हरेक पदयात्रामा
यसपल्ट चढान साह्रो छ लाग्छ
दोष पाउँछ तब बोकेको झोलाले
खुकुलो छु वा कस्सिएछु आज
जान्दैन आफै जुत्ताले ।
साला, उमेर पो बढ्यो कि ?
शरीर कमजोर लाग्छ ।
शक्ति पो घट्यो कि ?
खुट्टा भारी लाग्छ ।
खोलालाई हेर्छु , टाउको बजार्दै पनि किनारमा
बगेकै छ ।
रुखलाई हेर्छु , बतासले मर्काए पनि
बाँचेकै छ ।
म यात्री
छेउ भएर हिँड्दै गर्दा खोलासँग
अन्जानैमा छालसँग चाल मिलाउँछु
लाग्छ , मैले बग्न सिकेँ
अब बग्छन् मनका द्वेषहरु ।
अफ्ठ्यारा भीरमा हुर्केका पोथ्रा
अप्ठ्यारामा हात हुन्छन्
साथको अर्थ लाग्छ ।
भुइँमा हेर्छु , झरेका , मरेका पात पनि
पाइलामा सङ्गीत भर्छन्
जीवन सङ्गीत लाग्छ ।
म यात्री
उक्लँदा उक्लँदै यात्रामा , डाँडा टेक्छु
देख्छु हिमालका फराकिला छातीहरु
लाग्छ , मैले उभिन सिकें
अब संसार छातीमा आँट्छ ।
पदयात्रा यसरी, उसरी, खै कसरी
नजान्दा नजान्दै अन्त्य हुन्छ ...
म यात्री
गन्तव्य टेकेर जसै घर फर्कन्छु
साथ बसाउँछु
जीवनलाई पदयात्राको ऐना देखाउँछु ।
पदयात्रा भन्छ :
एक पल्ट हिँडेको बाटो फेरि हिँड्न पाए
कति सहज लाग्दो हो
कति छोटो लाग्दो हो ।
जीवन ऐना हेरेर मुस्कुराउँछ
म जीवन हेरेर मुस्कुराउँछु ।
सुनाउँछु :
समयको नाडीमा जीवन बाँध्ने मान्छे हुँ
सहज भएपनि म कहाँ पदयात्रा दोहोर्याउँछु ।

